|

उधारो आदर्श (लघुकथा)



दिलीप आचार्य

सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।

“…म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ…” पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो “…राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको”।

“मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्…” दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो “… राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु ” ।

“मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन…” तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो “…मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको”।

उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।

“तिमीहरु सबै यहीँ नै रहेछौ,…देशमा भर्खरै ठुलो राजनैतिक परिवर्तन भएको छ …थाहा पायौ ?…” भित्र पस्दापस्दै चौँथो व्यक्तिले पहिलो व्यक्तितर्फ हेर्दै भन्यो “…तिम्रो दलले आफ्नै सरकार बने मात्रै समस्या समाधान हुने भन्दै अहिलेको सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ..”।

त्यसपछि उ दोस्रो युवकतर्फ फर्यो “…अनि तिम्रो दलका नेताहरु बीच भने हालको अबस्थामा के गर्ने भन्ने वारेमा गम्भीर मतभेद भएछ…” उसले अगाडि भन्यो ” …त्यसैले अब कसलाई समर्थन र कस्को विरोध गर्ने भन्ने वारेमा मतभेद हुँदा तिम्रो दल टुक्रीने पक्का भएको छ “।

त्यसपछि उसले तेस्रो व्यक्तिलाई हेर्दै भन्यो “परिवर्तत अबस्थामा के निर्णय लिने भने निर्क्योल गर्न नसकेपछि तिम्रा दलका वरिष्ठ नेतहरु भने अहिले छिमेकी राष्ट्रका राजदूत भेट्न विदेशी नियोगमा पुगेकाछन् ” ।

Posted by Unknown on 23:31. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उधारो आदर्श (लघुकथा)"

Leave a reply