|

नेपाली कविताहरू को नया ठेगाना - उचाइ



अटलविहारी वाजपेयी

उंचाई

अग्ला पहाडमा
उम्रँदैनन् रुखबिरुवा
न त झार नै पलाउँछ।
जम्दछ केवल हिउँ
जो, कात्रो झैँ सेतो र
मृत्युजस्तै चिसो हुन्छ,
हाँस्दोखेल्दो नदी
जुन रूप अँगालेपछि
पश्चातापले तप्पतप्प रुन्छ ।
जसलाई छोयो भने पानी पनि ढुङ्गो बन्दछ,
जसलाई देख्दा आफू पुड्को भए झैँ लाग्छ,
त्यो उचाइ
अभिनन्दनको हकदार हुन सक्छ
आरोहीहरूका लागि आमन्त्रण हुन सक्छ,
त्यसमा झन्डा गाड्न सकिन्छ,
तर,
कुनै गौँथलीले
त्यहाँ गुँड बनाउन सक्दैन
न कुनै बटुवा
त्यसको छायामा एक झप्को निदाउन सक्छ।
केवल उचाइले नहुने रहेछ।
सबैबाट छुट्टिएर
परिवेशबाट अलग्ग
आफन्तहरूबाट चोइटिएर
शून्यमा एक्लै उभिनु
हिमालको महानता हैन
विवशता हो, सायद।
अनन्तको फरक हुँदोरहेछ
उचाइ र गहिराइमा।
जो जति अग्लो, त्यति नै एक्लो हुन्छ
आफ्ना बोझहरू एक्लै बोक्दछ
बाहिर अनुहारमा हाँसो टाँसेर
भित्र आफैँसँग रुनेगर्छ।
उचाइ सँगसँगै फैलाइ पनि हुनु रहेछ,
ता कि,
खाँबो जस्तो उभिइ नरहोस्‍ मान्छे ।
अरूहरूमा बाँडियोस्
कसैलाई साथ लागाओस्
कोहीसँग कुम जोडेर हिँडोस्।
भीडमा हराउनु
सम्झनामा डुब्नु
आफैँलाई बिर्सिनुले
अस्तित्वलाई अर्थ र
जीवनलाई सुगन्ध दिनेरहेछ।
धरतीलाई पुड्काको हैन
अग्ला मान्छेको खाँचो छ
यति अग्ला कि आकाश छोउन
नयाँ नक्षत्रहरूमा प्रतिभाको बीऊ छरुन्।
तर त्यति अग्ला पनि हैनन्
कि
टेकेको ठाउँमा दुबै नउम्रियोस्
कुनै काँढाले घोच्दै नघोचोस्
कोपिलाहरू फक्रिनै नसकुन्।
न वसन्त होस् न पतझडको बैराग्य
जहाँ उचाइको आँधीले कुटेको
एक्लोपनको नीरवता मात्र बाँचेको होस् ।
प्रभू!
मलाई त्यति अग्लो कहिल्यै नबनाऊ
त्यति रूखो कहिल्यै नबनाऊ
पराईलाई अँगालो हाल्न नसकूँ!
.
(हिन्दीबाट अनुवाद – सुमन पोखरेल)

Posted by Unknown on 00:15. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कविताहरू को नया ठेगाना - उचाइ"

Leave a reply