|

नेपाली कविता को ठेगाना



वियोगी काइँला

आच्छु … छु…। छु …छु डायस्पोरा

थर्रथर्र वातावरणमा इत्तर
परदेशै परदेश त हो जीवन
बुझ्नू पर-देश
अलिकति पर एउटा जिन्दगी
धेरै पर - देशमा हुनु
छाना भित्ता बलेसी आँगन कौशीफूल
टाढा हुनु छिट्टिनु छुट्टिँदै छुट्टिनु
सम्बन्धका किल्ला दाम्ला चुँडेर
सेकाउनु चुँडाएर मुटु
साराङमुनि भारमा तप्तप्
सिङ्ग्रिङ जीउमात्र भएर परदेशी
चपाइबस्छ चेपेर परिस्थितिको गिजाले
चलाइबस्छ विवशताको जिब्रोले
निचोरेर समयले पल पल
छोक्रामात्र जीवन बोक्रामात्र डायस्पोरामा
चाँप फुल्यो वन सेतै
जीउमात्र यता मन तेतै
सङ्गीतको कोलाजाभित्र अन्तस्करण
यही आकाश मुनि त्यही भूगोलमा
परदेश त पीडाको जङ्गल हो
जहाँ थुप्रै दुःखका रुखहरु झ्युगिएका हुन्छन्
सुकेर खस्नु मात्र स्वभिमानका पातहरु
सुनामी र क्याटि्रना बीच भुमरीमा
जोहो गर्नु गाह्रो छ फलाउनु जिन्दगी
घाम नभेटेर पहेँलो पहेँलो बाँच्नु
निष्पट दुःको जङ्गलमा
फर्कन नसकेका निर्वासित चराहरु/परदेशी मनहरु
बुन्नु मखमली सपना देखेर
खस्नु फड्केबाट मरिचिकाको
उमेरहरु बेच्नु मात्र
बगाउनु पसिनाको तमोर
श्रम र सीपको खिया लाग्नु
उचाल्नु अरुलाई माथि
हाम्रो बुद्धि वश तेत्ति !
टेकेर यात्रा गर्नु ओखटोमा आफैँ कपेर
भाज्याङको चिसो बतासको बाटो उक्लनु
सिरेटोले जीउमा हात हालेर जान्छ
मिनपचासको विदा हो -डायस्पोरा
ककि्रएर जीउ मर्काउन नसकिने तन्काउन
साइवेरियाको ठिही भन्दा हुन्छ
आच्छु कति जाडो हो - परदेश
सहिदको रगतले कोरेको रुपरेखामा
रङ्ग भरौँ तेल चित्रमा मनोहर भन्छु
घुम्नु चढ्नु हिउँको आफ्नै टाकुरामा
कुन बाली फल्दैन र आफ्नै पाखुरामा
आउँछ सहकाल पसिना बगाए बाजर भूमिमा
परिश्रम गरे फूल्छ सुन पनि मातृभूमिमा
नबुझेरै थाहामा लागेको लै लै मा
पीर-शाला परदेश त
भग्नावशेष जिजीविषहरु बटुलेर
गाली गर्नु जस्तो युयुत्साले
जाँठो परदेश
घृणाको जङ्गलबाट फर्क
न्यानो मातृभूमिको काखमा
निर्वासित मनहरु/अभिशप्त सपनाहरु
पर्खिरहेछ सेतै फुलेको बूढो सगरमाथा जस्तो मनहरु
फर्क ! श्रम सिप र जाँगरहरु
फर्क !! पाखुरा र पसिनाहरु
फर्क ! ! ! अस्तित्व र स्वाभिमानहरु
आच्छु कति जाँडो डायस्पोरा

Posted by Unknown on 00:11. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कविता को ठेगाना"

Leave a reply