|

जङ्गली - नेपाली कविता

पातको वेदमा
क्लोरोफिलले लेखेको तिम्रो वीर्यको अभिलेखबाट
तपतप खस्ने तिम्रो सासले
भुँइ खोतलेको हेर
आमाको स्तन खोज्न सिकाउनु पर्दैन कुनै पनि शब्दलाई।

तिमीले कसरी भुल्यौ कि यो रूखको छानामुनी हुर्किएका सपनाहरू
विकलाङ्ग होइनन् सधैँ चल्मलाउने जीव जस्तो गिदी
कि कुनै गरीबको खोले होइन।

तिम्रो अनुहारको छाला तानेर टॉंगेको
सिसाघरजस्तो इतिहास
कति छ्याङ्ग छ।

अलिकति रातो क्लोरोफिल दल आँखामा
देख्छौं कि तिम्रो चेतनाको फोसिल
जहॉं हुर्कँदैछ कुनै विधानको एकलकॉंटे गङ्गटा।

दुइहातमा आफ्नै मात्र गिदीको रङको बट्टा बोकेर
कतै गइरहेको तिम्रो बत्तिएको गुड्डी
तानेर राख कुनै सर्वजनिन ठाउँमा।

कुनै पनि पर्यटक शब्दले
तिमीलाई खर्चिने कुनै पनि कमेन्टको शीर्षकको बीऊ
बँचाइराख्नु।

त्यसै पनि तिम्रो घुरेनबारीमा आयतित केमिकल फुल्छ
जसले तिम्रो घरभित्र हुलेको उपनिवेशवादी दुर्गन्धले
तिमीलाई साक्खै आफन्त मानेको छ।

यतिबेला यस्तै हुन्छ कि आँगन डीलको आरूको रूखले
तिम्रो घरको सौन्दर्य खोस्छ
परपरसम्म फैलिएको जङ्गलले सभ्यताको चर्चित कथा भन्दैन।
खेतको गोरूको मूल्यले तिर्नु सक्दैन तिम्रो अर्ध चेतनाको ऋण।

तिम्रो घर अचानक बोन्साइ हुन्छ
जहॉं तिम्रो सास अँट्दैन।

बाख्राका पाठाहरू खेल्ने त्यो चउरको के सुन्दरता?

यस्तै हुन्छ कि हरेक प्रश्न नयॉं लाग्छ।
बासी प्रश्नहरूले फेर्ने कॉंचुली नयॉं सुइटर लगाएको उत्तरको इतिहास
तिम्रो अनुहार जत्तिकै पुरानो छ।

कसरी भुल्यौ कि जङ्गलमा बाघ भालू मात्र बस्दैन
तिम्रो कूलदेवता पनि बस्छ
सह ईश्वर पनि बस्छ।

उधौली उँभौली त्यही जङ्गलबाट नै तिम्रो पुजा कोठामा आइपुग्छ।
न्वॉंगी पनि आइपुग्छ
नयॉं दालसित नयॉं चामलको खोले खान।

तिम्रो कॉंचुली बस्छ जङ्गलमा।

कहिले पढ़िसक्छौ पातमा लेखिएको यो वेद।

तलको पैह्रो जस्तो पन्नामा लेखिएको हरेक दुर्घटना विनास
तिम्रो हातको अक्षर हो।

कुनै पनि टुसाले यो संहारको बदला लिनुसक्छ है।

केलाउ आँखाको बोक्रा भेट नयॉं छाला
जहॉं बग्छ
इकोफ्रेण्डली रगत।

कति जङ्गली भइबसेको।

(सह्रदय साभार - वोगटीविम्ब ब्लॉग)

Posted by Unknown on 07:01. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जङ्गली - नेपाली कविता"

Leave a reply